मणिमुकुन्द कप इन्डो-नेपाल भलिबल : फाइनलमा गल्कोट र गुजरात भिड्दै

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी १०औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । साँझ ५ बजे हुने  फाइनल खेलमा गल्कोट भलिबल क्लब र भारत गुजरातको साग भलिबल एकेडेमीबीच उपाधिका लागि भिडन्त हुनेछ । गलकोटले  शुक्रबार भएको अन्तिम सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी  क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा  गुजरातको सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र २५-१८ को सोझो सेट विजयी भएको हो ।

गल्कोटले आर्मीलाई ३-१ को सेटमा पराजित गर्‍यो । गल्कोट २५–१८, २३–२५, २५–१४ र २५–२२ विजयी  भयो । तेस्रो स्थानका लागि  हुने खेल आज दिउँसो ३ बजे सुरु  हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका निवर्तमान अध्यक्ष मिलान रानाले बताए । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ तथा दोस्रोले दुई लाख ११ हजार १११ रुपैयसँ प्राप्त गर्नेछ । तेस्रो टोलीले एक लाख ११ हजार १११ रुपैयाँ र चौथो टोलीले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।