पाँच महिनामै १ अर्ब ३२ करोड नाफा : कृषि विकास बैंकको ऐतिहासिक फड्को

काठमाडौँ । कुनै पनि संस्था सुधार्न नेतृत्वको भूमिका कति निर्णायक हुन्छ भन्ने उदाहरणका रूपमा कृषि विकास बैंकले आफुलाई स्थापित गरेको छ । २०७९ फागुन ८ गते प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हालेका गोविन्द गुरुङको नेतृत्वमा बैंकले उल्लेखनीय सुधार गर्दै बैंकिङ क्षेत्रमा नयाँ इतिहास रचेको छ ।

गुरुङले कार्यभार सम्हाल्दासम्म बैंक १२ करोड ८९ लाख रुपैयाँ घाटामा थियो । तर, उनको रणनीतिक सोच, सक्रिय नेतृत्व र सुधारमुखी प्रयासले पाँच महिनामै बैंकलाई नोक्सानबाट उकास्दै १ अर्ब ३२ करोड नाफामा पु-यायो । २०८० असारदेखि ०८१ असारसम्मको अवधिमा बैंकको नाफा १७६ प्रतिशतले वृद्धि भएको छ ।

गुरुङले नेतृत्व सम्हाल्दाको पहिलो दिनदेखि नै कर्जा असुली र खाता व्यवस्थापनमा प्राथमिकता दिए । निष्क्रिय कर्जा दर पुस मसान्तसम्म ४.५२ प्रतिशत रहेकोमा चैतमा घटेर ४.२० प्रतिशतमा झर्‍यो । त्यही समयावधिमा बैंक नाफामा पुगेको हो ।

गत असारसम्म बैंकले ४ अर्ब १३ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा कमायो, जसले कृषि विकास बैंकलाई सरकारी बैंकहरूमध्ये ‘नम्बर वान’ को स्थानमा पु-यायो । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई समेत पछि पार्दै यो उपलब्धि हासिल गर्‍यो ।

कर्जा प्रवाह र निक्षेप संकलनमा समेत बैंकको प्रदर्शन सशक्त रह्यो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन १३.०५ प्रतिशतले वृद्धि हो । त्यस्तै, निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५९ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.२१ प्रतिशत बढी हो ।

गुरुङले ग्राहकसँगको सम्बन्ध व्यवस्थापनलाई सुदृढ गर्दै बैंकलाई केवल ऋण दिने संस्था होइन, परामर्शदाताको भूमिकामा पनि उभ्याएका छन् । बैंकको आम्दानी स्रोतलाई विविधीकरण गर्दै, ब्याज आम्दानीमा निर्भरता घटाउँदै अन्य सेवाबाट पनि आम्दानी बढाउने कार्यमा लागेका छन् ।

प्रणालीगत सुधार, कर्मचारी जिम्मेवारीको भावना, रोकिएका बढुवा प्रक्रिया पुनःसञ्चालन, र युनियनका मागहरू कार्यान्वयनजस्ता कदमले बैंकभित्र सकारात्मक वातावरण सृजना भएको गुरुङको भनाइ छ ।

हाल भने निष्क्रिय कर्जा पुनः वृद्धि भएको छ । २०७९ पुसमा ४.५२ प्रतिशतबाट घटाएर २.४८ प्रतिशत ल्याइएको एनपीएल अहिले पुनः बढेर ४.९० प्रतिशत पुगेको छ । तर पनि, सरकारी बैंकहरूमध्ये न्यूनतम निष्क्रिय कर्जा रहेको बैंक कृषि विकास नै हो ।

गुरुङको धारणा अनुसार अहिलेको समस्या अर्थतन्त्रमा पैसाको प्रभावकारिता नहुनु हो । बैंकहरूसँग ८ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भए पनि लगानी गर्न वातावरण नहुँदा समस्या देखिएको हो । यद्यपि, गुरुङ यस अवस्थाबाट बाहिर निस्कने आशामा छन् ।

कृषि विकास बैंकको यो रूपान्तरण नेपालको बैंकिङ इतिहासमा प्रेरणादायी अध्याय बनेको छ । जुन प्रमाणित गर्छ— इच्छाशक्ति र नेतृत्वद्वारा परिवर्तन सम्भव छ ।