कस्तो रहन्छ आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुँवालो क्रमिक रुपमा कम हुने देखिन्छ ।

मेघगर्जन/चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।