सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस् : देउवा

काठमाडौं। नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले बद्नाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदनामी भइरहेको भन्दै यस्तो स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘बिपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन् भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूला बदनामी भइरहेको छ, यस्तो हुनु हुँदैन् । बिपी कोइराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’

कार्यक्रममा बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एवं कांग्रेसका नेता उमेश जंग रायामाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगी नगर्ने बताए ।

उनले भने, ‘केही कमि कमजोरीहरु भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौँ । यो सहकारी रविको सहकारी होइन यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन यो स्वास्थ्य सेवा दिने बिपीको नाममा स्थापना भएको संस्था हो । एक पैसा खाने छैन् र खान दिन छैन् ।’

बिपी कोइरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निःशुल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ ।

उनले भने, ‘बिपी कोइरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निःशुल्क सेवा गर्ने निर्णय गरेका छौँ । कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौँ । कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किँदैन् । यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौँ ।’