काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग आज भेटवार्ता गर्दै, बीमा क्षेत्रभित्र देखिएका नीतिगत कठिनाइप्रति ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त अध्यक्ष ओझालाई बधाई तथा शुभकामना दिँदै, संचालकहरुको सेयर बिक्रीसम्बन्धी व्यवस्थालाई अव्यवहारिक रहेको भन्दै पुनर्विचारको माग गरेको हो।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार, संचालकले पदमा बहाल रहँदा वा राजीनामा पछि एक वर्षसम्म कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाइ छ।
संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “सेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं। कम्पनीका अन्य सेयरधनी सरह संचालकहरु पनि लगानीकर्ता हुन्, र सेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित छैन।”
संघले प्राधिकरणसँग उक्त व्यवस्था संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न सक्ने प्रावधान ल्याउन आग्रह गरेको छ। अध्यक्ष मल्लले भने, “संचालकको हैसियतमा लगानी गरेपछि, लगानी उपयोग गर्नबाट बञ्चित गर्नु अन्याय हो।”
त्यस्तै, उनले कुनै व्यवसायीले आफ्नो सम्पत्ति बिक्री गर्न नपाउने अवस्था सिर्जना हुँदा व्यवसाय विविधीकरण र व्यक्तिगत आवश्यकतामा बाधा पुग्ने उल्लेख गरे।
भेटका क्रममा संघले नेपाली पुनर्बीमा कम्पनीहरुलाई दिइँदै आएको प्रत्यक्ष हिस्साबारे पनि आपत्ति जनाउँदै प्राधिकरणको ध्यानाकर्षण गराएको छ। बीमा ऐन २०७९ अनुसार, बीमकले धारण गर्न नचाहेको जोखिम मात्र पुनर्बीमा गर्नुपर्ने प्रावधानको व्याख्या गर्दै संघले हालको ६/६ प्रतिशत प्रत्यक्ष हिस्सा दिने व्यवस्था ऐनको मर्म विपरीत भएको जिकिर गरेको छ।
भेटमा अध्यक्ष मल्लसहित आजाद श्रेष्ठ, रमेश निरौला, बालकृष्ण श्रेष्ठ र कुनाल कयल सहभागी थिए ।