वासिङटन डीसी । अमेरिकाकी उप–राष्ट्रपति कमला ह्यारिसले मानसिक परीक्षणका लागि आफू तयार रहेको बताउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यस्तो परीक्षण गराउन चुनौती दिएकी छिन् । नोभेम्बर पाँचमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प उठेका छन् । डेमोक्रेटिक पार्टीले कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ ।
यसैबिच ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताएका छन् । अमेरिकाको जर्जिया राज्यमा आयोजित फेथ समिटमा एक प्रश्नोत्तरको सत्रमा ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको र धर्म नै अमेरिकालाई जोडेर राख्ने कडी भएको बताएका थिए । यस क्रममा ट्रम्पले जुलाईमा आफूमाथि भएको आक्रमणको आफू अहिले यसरी बोल्न सक्नु चमत्कार भएको भनेका थिए ।