राष्ट्रपति मोदुरोको हत्या गर्ने योजना बनाएको आरोपमा अमेरिकीसहित ६ जना विदेशी नागरिक पक्राउ

  • प्रकाशित मिति : September 15, 2024
  • नयाँ सवाल

काराकास । देशमा अस्थिरता कायम गर्ने षडयन्त्र गरेको आरोपमा भेनेजुएलामा ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना अमेरिकी, २ स्पेनिस र एक जना चेक नागरिक छन् । गृहमन्त्री डियोसडाडो काबेलोले उनीहरूको साथबाट सयौँ हतियार पनि बरामद गरिएको जानकारी दिए । उनीहरूले राष्ट्रपति निकोलास मोदुरोसहित शीर्ष अधिकारीहरूको हत्या गर्ने योजना बनाएको काबेलोको आरोप छ ।

भेनेजुएलाको सरकारले पक्राउ परेका स्पेनिस नागरिकहरू मड्रिडको नेसनल इन्टिलिजेन्स सेन्टर (सीएनआई) सँग जोडिएको बताएका छन् । स्पेनिस सरकारनिकट स्रोतले भने स्थानीय मिडियासँग कुरा गर्दै सो आरोपको खण्डन गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा काबेलोले भने, ‘अमेरिकाको सीआईएले यो अपरेसनको नेतृत्व गरिरहेको छ । यो कुराले हामीलाई आश्चर्यचकित बनाएको छैन । तर, सीआईएले काम गर्ने भएकाले स्पेनको नेसनल इन्टेलिजेन्स सेन्टरले भने यसअघि सक्रिय थिएन ।’

‘पक्राउ परेका दुई जनाले हामीलाई उनीहरूले भाडाका सैनिकहरू भेनेजुएला ल्याउने प्रयास गरिरहेको पनि जानकारी दिएका छन् । उनीहरूको स्पष्ट उद्देश्य राष्ट्रपति निकोलास मोदुरो, उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज र मसहित अन्य कमरेडहरूको हत्या गर्नु थियो,’ उनले थपे । अमेरिकाले भने यी आरोपहरू अस्वीकार गरेको छ । मोदुरो सरकारलाई अपदस्त गर्ने योजनामा अमेरिकी संलग्नताको दाबी झुटो भएको स्टेट डिपार्टमेन्टले बताएको हो ।