चुकन्दरले शरीरमा रगत बढाउछ

  • प्रकाशित मिति : September 7, 2024
  • नयाँ सवाल

दैनिक जिम जाने, व्यायाम गर्ने र उच्च रक्तचापको समस्या भएकालाई पोषणविद्हरु चुकन्दर खाने सल्लाह दिन्छन् । शरीरमा रगतको कमी हुँदा र रगतमा हेमोग्लोबिनको कमी छ भने पनि चुकन्दर खानु फाइदाजनक मानिन्छ ।  के साँच्चै चुकन्दरले शरीरमा रगत बढाउँछ त ?

चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ । किनभने चुकन्दरमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिकाहरु निर्माणमा गर्न मद्दत गर्छ । जुन मानव शरीरको लागि अत्यावश्यक प्रोटिन पदार्थको रुपमा लिइन्छ ।

चुकन्दरले रगतमा हुने हेमोग्लोबिन नामक प्रोटिनलाई नियन्त्रणमा राख्ने वा त्यसको स्तर बढाउने काम गर्छ । यसले फोक्सोबाट अक्सिजन लिएर रगतको माध्यमबाट शरीरका विभिन्न अंगहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ । शरीरमा रातो रक्तकोषिका निर्माणमा ह्रास हुन दिंदैन । शरीरमा रगतको कमी हुने समस्या वा रगतको कमीले हुने रक्तअल्पता अर्थात् एनिमिया जस्ता रोगबाट बचाउन पनि मद्दत गर्छ ।

नाइट्रेट तत्व पाइने चुकन्दरमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम र मिनरल्स पाइन्छ ।

चुकन्दरका फाइदा के के छन् ?

एन्ट क्यान्सर

चुकन्दरमा नाइट्रेट तत्व पाइन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरमा अनियन्त्रित रुपमा विकास भएका कोषलाई खोजेर नष्ट गर्ने काम गर्छ । क्यान्सर जस्तो प्राणघातक रोगबाट जोगाउन मद्दत गर्छ । यो अनुसन्धानबाट पनि पुष्टि भएको कुरा हो ।

केही वर्षअघि इटालीमा गरिएको अनुसन्धानमा चुकन्दरमा पाइने बीटा सायनिन अर्थात् एन्टिअक्सिडेन्ट गुणले कोलोन क्यान्सरको कोषिकाहरुलाई नष्ट गर्ने पुष्टि भएको थियो ।

बेलायतको युनिभर्सिटी अफ एक्सेटरको एप्लाइड फिजियोलोजीका प्राध्यापक एन्डी जोन्सले १० वर्षसम्म एथ्लेटिक्सहरूको प्रदर्शनको अनुसन्धान गरेका थिए । उनका अनुसार जब हामीले चुकन्दर खान्छौं, हाम्रो मुखमा भएका ब्याक्टेरियाले नाइट्रेटलाई नाइट्रिक अक्साइडमा परिणत गर्न थाल्छ । नाइट्रिक अक्साइड एक भासोडिलेटर हो । यसले रक्तनलीहरू फराकिलो बनाएर रगत सजिलैसँग शरीरमा प्रवाह गर्न सहयोग गर्छ ।

शरीरका अंगहरुमा पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउने काम यसले गर्छ । साथै चुकन्दरले यौन उत्तेजनाको लागि पनि नाइट्रिक अक्साइडको परिपूर्ति गर्ने बताइन्छ । यद्यपछि यसबारे अनुसन्धानबाट पुष्टि चाहिं भएको छैन ।