काठमाडौँ । देशका विभिन्न स्थानसँगै यतिबेला (मंगलबार बिहान ८:२० बजे) काठमाडौँ उपत्यकामा पनि व्यापक मात्रामा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ। ‘कतै कतै हल्का वर्षा पनि भइरहेको छ’, उनले भने।
मौसमविद् झाका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने सम्भावना देखिएको छ। ‘लगातार वर्षा नभए पनि पानी पर्ने रोकिने भइरहने देखिन्छ’, उनले भने।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कपनमा ९७ मिलिमिटर वर्षा भएको छ।