अमेरिकामा मन्दीको आशंकाबिच सेयर बजार ओरालो

  • प्रकाशित मिति : August 5, 2024
  • नयाँ सवाल

वाशिङ्टन डीसी । अमेरिकामा आर्थिक मन्दी आउने आशंकबिच पछिल्ला केही दिनयता अमेरिकी सेयर बजार ओरालो लाग्न थालेको छ । अघिल्लो दिनको कारोबारमा अमेरिकी सेयर परिसूचक रक्ताम्मे बनेपछि हप्ताको पहिलो दिनको कारोबारमा सोमबार विश्व सेयर बजार त्रस्त बन्यो । यसमाथि इरान र इजरायलबिच युद्ध छेडिने भयले पनि बजार प्रभावित भइरहेको विश्लेषण गरिएको छ ।

सोमबार नेपाली समयअनुसार बिहान ११ : १८ बजे जापानमा निक्केई–२२५ ११ दशमलव ३२ प्रतिशतले घटेको थियो । सिंगापुरमा स्ट्रेट टाइम्स ३ दशमलव १८ प्रतिशतले तल आएर कारोबार भइरहेको थियो । थाइल्यान्डमा सेट कम्पोजिट पनि २ दशमलव शून्य ८ प्रतिशतले घटेको थियो । दक्षिण कोरियामा कोस्पी ८ दशमलव ८ प्रतिशतले घट्दा ताइवानमा ताइवान वेटेडमा ८ दशमलव शून्य ५ प्रतिशतको कमी देखियो । चीनमा साङहाई कम्पोजिट शून्य दशमलव ५७ प्रतिशत तल आएको थियो भने हङकङमा हाङ्शेङ परिसूचक पनि १ दशमलव २५ प्रतिशतले घटेको थियो । भारतमा पनि निफ्टी परिसूचक २ दशमलव ३४ प्रतिशतले घट्यो ।

यो समाचार तयार पार्दाखेरि यूरोपमा सबै प्रमुख सेयर परिसूचक रातोमा थिए । बेलायतमा फुट्सी १ दशमलव ३३ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक–४० १ दशमलव ६४ प्रतिशत तल आउँदा जर्मनीमा डीएएक्स परिसूचक २ दशमलव ३९ प्रतिशत तल आएको थियो । अघिल्लो दिनको कारोबारमा अमेरिकामा एसएन्डपी–५०० १ दशमलव ८४ प्रतिशत घटेको थियो भने नास्डाक पनि २ दशमलव ४३ प्रतिशत तल आएर बन्द भएको थियो । सोमबार अमेरिकी सेयर बजार रातोमै रहने सेयर फ्युचर्सले देखाएका छन् ।