छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी

  • प्रकाशित मिति : April 16, 2024
  • नयाँ सवाल

मुम्बई । अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहाना खान ठुलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् ।

फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन् । हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुईसय करोड लगानी गर्दैछन् । फिल्मका लागि शाहरुखको टिम एक वर्षयता गृहकार्य गरिरहेको छ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठुलो स्केलमा बनाउनका लागि कुनै कसर बाँकी राखेका छैनन् । फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् ।

सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारीमा छन् । त्यहीकारण उनीहरू अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरू भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन् । फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा सुरु हुँदैछ । निर्माताहरू यसै वर्षको ६ महिना सुटिङ गरेर आगामी वर्षको ६ महिनामा यसलाई दर्शकमाझ ल्याउने योजनामा छन् । सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज फिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनले वेरोनिकाको भूमिका निभाएकी थिइन् ।