सेवाग्राहीको विश्वास जित्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

  • मिति : बैशाख ४, २०८१

काठमाण्डौ | प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएपछि काठमाण्डौको टेकुमा रहेको स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । प्रयोगशालामा सस्तोमा २५ रुपैयाँदेखि ५० हजार रुपैयाँ पर्ने मिर्गौला प्रत्यारोपणअघि गराइने परीक्षणको पनि सेवा दिन थालेपछि सेवाग्राहीको भीड बिहानदेखि लाग्ने गरेको हो ।

स्वास्थ्यमा खासै समस्या नभए पनि नजिकका मानिसले टेकुको प्रयोगशाला राम्रो छ भनेपछि परीक्षण गर्न आएको स्वयम्भूकी ५० वर्षीया उमा श्रेष्ठले बताउनुभयो । यस्तै टेकुको प्रयोगशालामा गराएको जाँचले विश्वस्तरीय मान्यता पाउने भएकाले ‘भिटामिन डी’ र ‘आइरन’ परीक्षण गर्न चाबहिलबाट आउनुभएका २७ वर्षीय आशुतोष पौडेलले सुनाउनुभयो ।

सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा अहिले दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा एक लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन् । प्रयोगशालाकाअनुसार गएको आर्थिक वर्षमा पाँच लाख ५९ हजार चार सय सात जनाले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ सय ५० वटा परीक्षण भएका छन् । आईएसओ मान्यता प्राप्त नेपालको एकमात्र सरकारी प्रयोगशाला भएकाले पनि धेरैले रुचाएको र विश्वासिलो मानेको हुनसक्ने प्रयोगशालाका निर्देशक डाक्टर रञ्जनराज भट्टले बताउनुभयो । अहिले पाँच वटा बुथबाट प्रयोगशालामा सेवा प्रदान भइरहेको छ ।

प्रयोगशालामा दैनिक सात सयदेखि एक हजार जनासम्म सेवाग्राही आउने गरेका छन् । सबैभन्दा बढी ‘होल बडी चेकअप’ नै गराउन आउने गरेका प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । परीक्षणका लागि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म टोकन वितरण हुन्छ । सार्वजनिक बिदाबाहेक आइतवारदेखि शुक्रवारसम्म प्रयोगशालाले सेवा दिँदै आइरहेको छ । शुक्रवार भने बिहान ८ देखि दिउँसो १२ बजेसम्म परीक्षण हुन्छ ।