शालिन पोखरेलको मृत्यु प्रकरणबारे अनुसन्धान गरि दोषीलाई कार्वाही गर्न अध्यक्ष ओलीको माग

  • प्रकाशित मिति : March 2, 2024
  • नयाँ सवाल

काठमाडौँ । शालिन पोखरेलको मृत्यु प्रकरणबारे गहिरो र विश्वसनीय अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माग गरेका छन् । चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा पोखरेल मृत फेला परेकी थिइन् ।

यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने भएकाले सबैले अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले आग्रह समेत गरेका छन् । ‘ चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’परिवार र आफन्त अत्यन्त पीडित छन्।

यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ।’