काठमाण्डौ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितको हिजो भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । हिजो बेलुकी भएको वार्ता सकारात्मक रहेको र आज फेरि छलफल गर्नेगरी टुङ्गिएको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका प्रवक्ता निर्ग नवीनले जानकारी दिनुभयो । यसअघिका वार्ता भन्दा सरकार अलि जिम्मेवार ढङ्गले प्रस्तुत भएको उहाँको भनाइ छ ।
आज वार्ता हुने भनिए पनि समयको टुङ्गो नलागेको उहाँले बताउनुभयो । अधिकारसम्पन्न आयोग गठनलगायतका माग राख्दै २३ दिन हिँडेर काठमाण्डौ आइपुगेका मिटरब्याज पीडितले केही दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
उनीहरुले फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् ।