विराटनगर । धरानमा एयरपोर्ट बन्न नसक्ने निष्कर्ष सार्वजनिक भएपछि धरानका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
फागुन १५ गते धरानमा विमानस्थल बनाउँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यबसायीक सम्भावना नभएको प्राधिकरणले विज्ञप्ति जारी गरेपछि मेयर साम्पाङले मन्त्री किराँतीलाई तल्लो स्तरमा गाली गर्दै आएका छन् । उनले मङ्गलवार मात्रै मन्त्री किराँती लक्षित ७ वटा स्ट्याटस लेखेका छन् । मेयर साम्पाङले किराँतीलाई कुलले धिक्कार्नेसम्म भन्न भ्याएका छन् । यति मात्रै होइन उनले किराँतीले मन्त्रालय सफाइ गरेको विषयमा समेत टिप्पणी गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणको विस्तृत अध्ययन प्रतिवेदनले धरानमा विमानस्थल बनाउन फेल्कजीवल नभएको निष्कर्ष निकालेपछि आक्रामक भएका मेयर साम्पाङले नियमावलीलाई थुक्दै संविधान त परिवर्तन हुने नियमावली संशोधन नहुने भन्दै टिप्पणी गरेका छन् । उनले नियमावली संशोधन गरेर भए पनि विमानस्थल बनाउने मन्त्री किराँतलाई चेतावनी दिएका छन् । साम्पाङ लेख्छन्,‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ । ज्यादा नखोक् । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…’