लगातार ६ दिनको गिरावटपछि बढ्यो नेप्से, २ अर्ब बढीको कारोबार

  • मिति : फाल्गुन १४, २०८०

काठमाडौँ । घट्न थालेको छैटौँ दिनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.२८ अंकले बढेर बन्द भएको छ । लगातार घट्दो अवस्थामा रहेको सेयर बजार परिसूचक आज सोमबार भने ०.६७ प्रतिशतले बढेर बन्द भएको हो ।

आज सेयर बजारको कारोबार खुलेदेखि नै बढ्न थालेको थियो । १९८० अंकबाट सुरु भएको परिसूचक १९९६ अंकसम्म पुगेर फेरि ओरालो लाग्दै १९७३ अंकसम्म आइपुगेको थियो । तर, अन्तिम समयमा उकालो लाग्दै १९९२ अंकमा पुगेर सेयर परिसूचक रोकिएको हो । यसअघि, सेयर बजार परिसूचक यही फागुन २ गते ५.९१ अंकले बढेको थियो । त्यसयताका ६ कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आइरहेको थियो । आज भने उत्साहजनक रूपमा बढ्यो । यसक्रममा १६७ वटा कम्पनीको मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै घटबढ भएको छैन ।

सेयर सूचक बढ्दा कारोबार रकम भने २ अर्ब १ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, जम्मा ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ । यता बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्य आज पनि १० प्रतिशतले बढेको छ । कित्तामा १४७५ रुपैयाँ बढेसँगै यो कम्पनीको मूल्य १६हजार २३२ रुपैयाँ पुगेको छ । यता समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले खुम्चिएको छ । यो कम्पनीको सेयर मूल्य १९५ रुपैयाँ प्रतिकित्ताले घटेसँगै १७ सय ६२ रुपैयाँ कायम भएको छ । आज ३ वटा समूहको सेयर मूल्य भने घटेको छ । वित्त समूह, लघुवित्त समूह र म्यूचुअल फन्ड समूहको सेयर मूल्य घटेको हो । यसबाहेकका सबै समूहमा सुधार आएको नेप्सेले जनाएको छ ।