निर्माण शुरु भएकाे ३८ वर्षपछि सुनथराली विमानस्थलमा परीक्षण उडान

  • प्रकाशित मिति : February 25, 2024
  • नयाँ सवाल

कालीकाेट | निर्माण शुरु भएको ३८ वर्षपछि कालीकोटको सुनथराली विमानस्थलमा बल्ल परीक्षण उडान भएको छ । आज प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकाे नहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनुभयो ।

२०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएकाे थियाे । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन ।

आज उडान सफल भएकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटन गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयो । २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुन लाग्दा स्थानीयवासी खुशी भएका छन् ।