टीआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छः प्रधानमन्त्री दाहाल

  • प्रकाशित मिति : February 23, 2024
  • नयाँ सवाल

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् ।

शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताए । उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए ।

प्रधानमन्त्री दाहालले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए । प्रधानमन्त्री दाहालले अदालतले बिदा नदिएपनि आफूहरूले जनयुद्ध दिवस मनाएको बताए ।