बालकुमारी घटनाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ

  • प्रकाशित मिति : February 22, 2024
  • नयाँ सवाल

काठमाण्डौ | सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद् अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारका तीन जना मन्त्रीको राजीनामा माग गरेको छ । बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको छ ।

त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कानुन विपरीत ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताउनु भयो । उहाँले तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्ष दलले संसद्मा राखेका विषयहरुको सुनुवाइ नभए संसद् र सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउनुभयो । उहाँले बालकुमारी घटनाको अध्ययन प्रतिवेदन अनुसार दोषीलाई किन कारबाही नगरेको भन्ने प्रश्न गर्नुभएको छ । श्रेष्ठले प्रतिपक्षको कुरा नसुनिएमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । यस्तै उहाँले मिटरब्याज पीडितहरुले न्याय नपाएर आन्दोलन गरे पनि सरकारले न्याय दिन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।