राजधानीमा तीन जनाको हत्यापछि जंगलमा भेटिए सितापाइला घटनाका काजी

  • प्रकाशित मिति : February 21, 2024
  • नयाँ सवाल

काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्यापछि आत्महत्या गरेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि पठाइएको छ ।

नागार्जुन नगरपालिका वडा नम्बर ५ स्थित हरिसिद्धको जंगलमा पुगेर उनले आत्महत्या गरेका हुन् । स्थानीयले काजी झुण्डिएको अवस्थामा देखेपछि प्रहरी कन्ट्रोलमा खबर गरिएसँगै जिल्ला प्रहरी परिसरको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो । स्थनीय सुधा तामाङले घटना देखेपछि बुधबार बिहान ११ बजेर १२ मिनेटमा प्रहरीलाई खबर गरेकी थिइन् ।

सीतापाइलामा रहेका श्रीमतीसहित दुई बालिकाको हत्या पछि उनी आत्महत्या गर्न भनेर हिँडेका थिए । काजीले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ,  ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरेका हुन् । अनिशा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् ।

ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो । पारिवारिक कलहले यो घटना निम्तिएको आशंका गरिएको छ । यसबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।