सात महिनामा २४१ उद्योगमा साढे २२ अर्ब विदेशी लगानी प्रस्ताव

  • प्रकाशित मिति : February 20, 2024
  • नयाँ सवाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात महिनामा उद्योग क्षेत्रमा २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।

उद्योग विभागका अनुसार २०८० साउनदेखि माघसम्मको अवधिमा उक्त विदेशी लगानीको प्रस्ताव प्राप्त भएको हो । उक्त अवधिमा २४१ उद्योगमा विदेशी लगानीको प्रस्ताव आएको विभागले जनाएको छ । गत माघ महिनामा मात्र १५ वटा उद्योगमा ३४ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रस्ताव विभागले प्राप्त गरेको छ । गएको पुस महिनामा एक अर्ब ७३ करोड रुपैयाँको विदेशी लगानी प्रस्ताव आएको थियो ।

पछिल्लो सात महिनामा प्राप्त विदेशी लगानी प्रस्तावमध्ये २२६ वटा साना उद्योग, १२ वटा मझौला उद्योग र तीन वटा ठूला उद्योगको लागि प्राप्त भएको विभागले जनाएको छ । विदेशी लगानी प्रस्ताव सबैभन्दा बढी पर्यटन क्षेत्रमा रहेको छ । उक्त अवधिमा प्राप्त भएको प्रस्तावमध्ये ४५ प्रतिशत पर्यटन उद्योगमा रहेको छ । यस्तै, प्राप्त वैदेशिक लगानी प्रस्तावमा ३६ प्रतिशत सेवा क्षेत्र, ११ प्रतिशत उत्पादन, दुई प्रतिशत पूर्वाधार, तीन प्रतिशत सूचना सञ्चार प्रविधि र दुई प्रतिशत कृषि क्षेत्रमा रहेको छ । विभागका अनुसार हालसम्म नेपालका ६ हजार ९८ उद्योगमा चार खर्ब ७२ अर्ब ५८ करोड ९९ लाख ३८ हजार ३०५ रुपैयाँको वैदेशिक लगानीको प्रस्ताव आएको छ ।