दंगल स्टार सुहानी भटनागरको ज्यान लिने रोग के हो ?

  • प्रकाशित मिति : February 19, 2024
  • नयाँ सवाल

कुश्तीमा आधारित आमिर खानको फिल्म दंगलमा बालक बबिता फोगाटको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भयो । आइतबार डर्माटोमायोसाइटिस नामक रोगका कारण उनको ज्यान गयो । सुहानीलाई फेब्रुअरी ७ मा दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो, अस्पतालमा उनको उपचार चलिरहेको थियो । तर फेब्रुअरी १६ मा रोगबाट उत्पन्न जटिलताका कारण उनले ज्यान गुमाइन् ।

डर्माटोमायोसाइटिस निकै दुर्लभ रोग हो । यसमा मांसपेशिहरू सुन्निन्छन् भने छालामा रगत जमेको जस्तो दाग देखिन्छन् । यस रोगलाई समयमै पहिचान भयो र विज्ञहरूको निगरानीमा उपचार गर्न सकियो भने यसबाट हुन सक्ने समस्याबाट राहत पाउन सकिने चिकित्सकहरू बताउँछन् । तर, कतिपय स्थितिमा यसले शरीरका अत्यावश्यक अंगहरूलाई यति छिटो आफ्नो चपेटामा पार्छ कि बिरामीको ज्यानसमेत जान सक्छ ।

के हो डर्माटोमायोसाइटिस ?

यो एक अटो इम्युन डिसअर्डर हो । यसमा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै अंगहरूविरुद्ध काम गर्न थाल्छ । शरीरमा केही यस्ता एन्टिबडीहरू बन्न थाल्छन् जसले मांसपेशीहरूलाई आक्रमण गरी कमजोर बनाउन थाल्छ । यसले गर्दा मांसपेशीहरु कमजोर हुन्छन् । बिस्तारै बिस्तारै यो समस्याले अलग अलग अंगलाई असर गर्न थाल्छ । अंगहरू सुन्निन थाल्छन् ।

यसका लक्षणबारे दिल्लीमा छाला विशेषज्ञ डा. अन्जु झा भन्छिन्, “हरेक बिरामीलाई विभिन्न किसिमका समस्याहरू हुन सक्छन् । कहिलेकाहीँ छालामा दाग देखिन्छ, आँखाको ढकनी सुन्निन थाल्छ, कहिलेकाहीँ त कमजोर भएको महसुस मात्रै भइरहन्छ । बिरामीलाई हात उठाए कोपाल कोर्न समस्या हुन सक्छ ।’ सुरुमा अनुहारमा रातो वा बैजनी दाग देखिने वा जोर्नी दुख्ने समस्या मात्र हुन्छ । तर, पछि अधिकांश बिरामीलाई हिड्न गाह्रो हुन थाल्छ र फोक्सोको मांसपेशी प्रभावित भएर सास फेर्न गाह्रो हुन थाल्छ ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका अनुसार डर्मेटोमायोसाइटिसको हुनुको ठ्याक्कै कारण थाहा छैन । तर यो समस्या आनुवंशिक जीन, वृद्धवृद्धामा कुनै क्यान्सर भएर, अन्य कुनै संक्रमण, औषधि वा वातावरणमा भएको कुनै चीजको एलर्जीका कारण हुन सक्छ । यसमा छाला र मांसपेशीमा रगत पुर्याउने रक्तनलीहरू (धमनीहरू) सुन्निन थाल्छन् । यसले छालामा बैजनी वा रातो दाग बन्न सक्छ । यी दाग दुख्न वा चिलाउन सक्छन् । कहिलेकाहीँ कुहिनो, घुँडा वा खुट्टाका औंलाहरूमा दाग बन्ने वा बैजनी दागहरू पनि देखा पर्न सक्छन् । नङ वरिपरि सुन्निने, जोर्नीहरूमा कठोर हुने, छाला सुख्खा हुने र कपाल पातलो हुन पनि सक्छन् । समस्या बढ्न थालेपछि निल्न गाह्रो हुन सक्छ, स्वरमा परिवर्तन आउन थाल्छ । थकान, ज्वरो वा तौल घट्ने जस्ता समस्या पनि देखिन सक्छन् ।

पहिचान कसरी गर्ने ?

प्रारम्भिक लक्षण देखा परेपछि बिरामीको मेडिकल हिस्ट्री र शारीरिक परीक्षण गरेर यी लक्षणहरूको कारण पत्ता लगाउन सकिन्छ । पुष्टिका लागि रगत परीक्षण, इलेक्ट्रोमाइलोग्राम (ईएमजी) र बायोप्सीको सहयोग लिइने चिकित्सक अन्जु झाले बताउँछिन् । सबैभन्दा सही तरिका चाँहि प्रभावित मांसपेशीहरूको बायोप्सी (केही हिस्सा लिएर प्रयोगशालामा जाँच गर्नु) हो । डर्मेटोमायोसाइटिस ५ देखि १४ वर्ष उमेरका बालबालिका वा ४० वर्षभन्दा माथिका व्यक्तिमा बढी हुने गरेको छ । कहिलेकाहीँ बालबालिकामा यो तीव्र गतिमा बढ्छ । यही रोग हो भनेर थाहा पाइसक्दासम्म यसले धेरै क्षति पुर्‍याइसकेको हुन्छ । अभिनेत्री सुहानीलाई पनि यस्तै भएको हुनसक्ने अञ्जु बताउँछिन् । कयौं पटक शरीरमा हानी पु¥याउने प्रतिरक्षा प्रणालीलाई नियन्त्रण गर्न इम्युनोसप्रेसेन्ट (प्रतिरक्षालाई कमजोर बनाउने औषधि) दिइन्छ, जसका कारण बिरामीलाई अन्य रोग लाग्ने खतरा पनि बढ्छ ।

उचित उपचारको खाँचो

जोन हप्किन्स विश्वविद्यालयका अनुसार डर्मेटोमायोसाइटिसको उपचार लक्षणका आधारमा मात्र गरिन्छ । उदाहरणका लागि, यदि मांसपेशीहरूमा कठोर छ भने, फिजिकल थेरापी गराइन्छ । छालाको बिबिरा वा दागबाट बच्न औषधि दिइन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई दबाउने खालको औषधि पनि दिइन्छ । डर्माटोमायोसाइटिसमा मात्र होइन अन्य कुनै किसिमको अटो इम्युन डिसअर्डर पनि छ भने लगातार औषधि खाइरहनुपर्ने अनि एक औषधिले मात्रै तुरुन्त निको हुन्छ भन्ने नभएको अञ्जुको भनाई छ । ‘पहिला रोगका कारण उत्पन्न समस्याहरू ठीकसँग बताउनुस् । रोग पत्ता लागेपछि सही उपचार गर्नुस् । कहिलेकाहीँ यसका बिरामीलाई स्टेरोइड पनि दिइन्छ । स्टेरोइड लिनु हुँदैन भन्ने भ्रम धेरै मानिसहरूमा छ । तर डर्माटोलोजिष्ट वा रुमेटोलजिष्टकहाँ गएर उनीहरुको सल्लाहमा उचित उपचार गर्न जरुरी छ,’ उनले भनेकी छिन् ।