कांग्रेस जनताले भरोसा गरेको पार्टी हो : सभापति देउवा

  • प्रकाशित मिति : February 19, 2024
  • नयाँ सवाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् । सोमबार ललितपुरको गोदावारी सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए ।

उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे । “अहिले हामी गठबन्धनको अभ्यासमा छौँ । गठबन्धन सरकार १० महिनाअघि मात्र बनेको हैन । प्रतिनिधिसभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,” उनले भने, “वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उदेश्यले बनेको हो ।”

सभापति देउवाले नेपाली कांंग्रेसको विधानमा समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए । उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे । उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले संविधान गतिशितला दस्तावेज भएको र यसमाथि जनताको स्वीकार्यता र स्वामित्व आवश्यक भएको उल्लेख गरे ।

उनले जनताको आशा भरोसा स्थापित गर्न संविधान कार्यान्वनयमा देखिएको अस्पष्टता जटिलता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा राखे । कांग्रेस जनताले आशा भरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाइ छ ।

“अहिले पार्टी ठूलो बनेको छ । संगठन बलियो छ । जनताको आशा भरोसा कांग्रेसप्रति छ । कांग्रेसले विश्वासलाई खण्डित हुन दिनु हुँदैन,” उनले भने । सभापति देउवाले पार्टीको १४औँ  महाधिवेशनले नेतृत्व मात्र चयन गरेको समय अभावका कारण नीतिगत विषयमा दस्तावेज राखेर छलफल गर्न नपाएकाले सोही उद्देश्यले महासमितिको बैठक बोलाइएको धारणा राखे । “दस्तावेज प्रस्ताव पेस हुनेछ । सबैले राम्ररी अध्ययन गरेर विचार राख्नुहुनेछ,” उनले भने ।