सुर्खेत । महिनावारी हुँदा घरदेखि टाढा असुरक्षित रूपमा गोठमा बस्दा विभिन्न घटना घट्ने गरेको छ। छाउगोठमा जोखिम मोलेर बस्दा धेरै महिला तथा किशोरी मृत्युको शिकार हुने, बलात्कृत हुने र अंगभंग भएका घटना छन्। तर, कर्णाली र सुदूरपश्चिममा छाउपडी प्रथा निर्मूल भने हुन सकेको छैन।
केही वर्षअघि बराहताल गाउँपालिकामा छाउगोठमा सुतिरहेकी एक किशोरी मध्यरातमा सामूहिक बलात्कारको शिकार भइन्। आफूसँगै सुतेकी साथीको मिलेमतोमा उनी बलात्कारको शिकार भएकी हुन्। दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १८ वर्षीया तुलसी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो। महिनावारी भएका बेला छाउगोठमा साथीहरूसँगै सुतिरहेकी उनको उपचारका क्रममा मृत्यु भएको हो।
लेकबेँसी नगरपालिका–१ की बालकुमारी थापाले एक वर्ष अघिदेखि महिनावारी बार्न छाडेका छन्। श्रीमान् भारततिर र छोराछोरी घरबाहिर भएकाले उनले छाउ बार्न छाडेका हुन् । तर, थापाले अरूलाई भने महिनावारी भएका बेला घरभित्र पस्न दिनुहुन्न। गत असोजमा घरमा पाहुना बनेर आएकी आफ्नी नन्दलाई त्रिपालले बारेर घरको आँगन छेउमा एक्लै सुताए।
‘हाम्रो त चलेको चलन हो’, उनी भन्छन – ‘म एक्लै भएर मात्रै नबारेको तर नन्दको र हाम्रो देउता एउटै हुँदैनन्, त्यसैले बाहिरै बस्नुपर्छ।’ उनले महिनावारी नबारेको ‘बार्नु हुँदैन’ भन्ने चेतनाले नभई घरमा एक्लै भएर बाध्यताले नबारेका हुन् । रावललाई पहिलेदेखि चली आएको चलनका विरुद्धमा जान पटक्कै मन छैन ।
कालिकोटकी नरमाया पौडेलका ससुरा वेदराज पुजारी हुन् । नरमायालाई छाउ बार्ने कुरा मन पर्दैन तर ससुराको डरले उहाँले महिनावारी बार्नुहुन्छ । महिनावारीलाई सुरक्षित रूपमा बार्न पौडेलले आफ्ना लागि कोठा बनाएका छन् । तर, हरेक दिन नरमायाको घरमा छाउपडी कोठामै बस्न थाले भनेर ससुराको गाली सुन्नुपथ्र्यो। उनलाई महिनावारीको समयमा महिलालाई गोठमा राख्नुभन्दा घरमै सुरक्षित रूपले राख्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि आवाज उठाउन सकेका छैनन।
‘छाउगोठ भत्काएर मात्रै त केही हुँदैन’, नरमाया भन्छन – ‘अहिले छाउगोठको सट्टा झन् त्रिपालले बारेर बस्ने चलन बढेको छ।’ कर्णालीका धेरै महिला देउता रिसाउने डरले अझै पनि घरबाहिर नै कष्टकर रूपमा बस्न बाध्य छन् । पञ्चपुरी नगरपालिकाकी यशोदा विष्टले छाउगोठमा बसेकै बेला धेरै दिदी–बहिनीको मृत्यु भएको सुन्दा पनि आफूहरू घरभित्र बस्न नसकेको बताउछन्।
‘अरू मरेको अनि बलात्कृत भएको त सुन्छौं’, उनले भने – ‘जति गरे पनि छाउ भएका बेला घरमा बस्न सक्दैनौं, देउता बिग्रन्छन् र पीर पार्छ भन्ने डर लाग्छ ।’ छाउ भएका बेला घरमा छुईछाई भयो भने नराम्रो घटना हुने गरेको विष्टले सुनाए । ‘अरूले त विश्वास गर्दैनन्’, उनी भन्छन – ‘छाउ भएकै बेला यस्तो भएका कारण हामी त विश्वास गर्छौं ।’
केही वर्षअघि गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र कालीकोटमा २ हजार २ सय ३५ छाउगोठ भत्काएको थियो। तर, अहिले भने उक्त कार्यक्रम सुस्ताएको छ। छाउपडी प्रथा हटाउनका लागि स्थानीय तहले विभिन्न योजना बनाए पनि कार्यान्वयन भने हुन सकेको छैन।
छाउपडी प्रथा उन्मूलनमा लामो समयदेखि काम गरिरहेकी हुम्लाकी पवित्रा देवकोटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका ठाउँबाहेक अन्त छाउपडी कायम रहेको बताउछन्। ‘केही ठाउँमा त अझै पनि बारीमा त्रिपाल टाँगेर बस्छन्’, उनले भने – ‘धामी–झाँक्री भनिनेहरूका घरमा अझै पनि गोठमै बस्ने चलन गएको छैन।’
केही स्थानमा घरको छुट्टै कोठमा बस्ने गरिए पनि अधिकांश ठाउँमा जोखिम मोलेरै किशोरी घरदेखि टाढा त्रिपाल टाँगेर बस्ने गरेको देवकोटाको भनाइ छ । कतिपय स्थानमा स्थानीय अगुवाले नै पुलिसलाई छाउगोठ भत्काउन दिएका थिएनन् । ‘सदरमुकाममै सबैभन्दा बढी छाउपडी प्रथा छ’, उनले भने – ‘हुम्लाको सर्केगाडका केही वडा र मध्य भागतिर छाउगोठ भत्किए पनि स्वरूप बदलिएको छ।’
सामाजिक विकास मन्त्रालयले गत वर्ष मर्यादित महिनावारी प्रवर्द्धन निर्देशिका लागू गर्ने भन्दै छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धन कार्यविधिको मस्यौदा तयार पारेको थियो। तर, उक्त कार्यविधि कार्यान्वयनमा आउन सकेको छैन। मन्त्रालयले मर्यादित महिनावारी प्रवद्र्धन निर्देशिका जारी गर्ने भने पनि अहिलेसम्म कुनै पहल चालिएको छैन ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १६८ को उपदफा ४ ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव वा छुवाछुत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ। तर, अझै पनि कर्णालीका ७० प्रतिशत महिला छाउगोठमा बस्न बाध्य छन्।