पाथीभरा मन्दिरमा एक महिना २४ लाख भेटी सङ्कलन

  • प्रकाशित मिति : February 17, 2024
  • नयाँ सवाल

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्र २४ लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरण अनुसार माघमा कुल २४ लाख एक हजार पाँच सय रुपियाँ सङ्कलन भएको हो ।समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ । यसअघि पुसमा ३५ लाख २९ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो । समितिका अनुसार माघ मसान्तसम्ममा सङ्कलन कुल भेटी आठ करोड ९४ लाख ५४ हजार ४८ रुपियाँ भएको छ ।

पछिल्लो समय पाथीभरा क्षेत्र विकास समितिले प्रत्येक महिना भेटी रकम सार्वजनिक गर्दै आएको छ । पाथीभरामा नेपाली रुपियाँ मात्र नभई भारतीय रुपियाँसहित विभिन्न देशका मुद्रा भेटीबापत सङ्कलन हुँदै आएको समितिले जनाएको छ ।