रुस पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

  • मिति : फाल्गुन ३, २०८०

काठमाडौं रुस पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगडी गाउँपालिका–९ ध्वासे फूलबारीका ३० वर्षीय मिलन तामाङ रहेका छन् । उनी हाल काठमाडौंस्थित स्वयम्भुमा बस्दै आएका थिए ।

उनले गणेश बिसीसहित दुई जनालाई पाँच लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि रुस पठाउने आश्वासन दिएका थिए । ताामाङले उनीहरूलाई रुस पुगेपछि कन्ट्रक्सनमा लेबरको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुने बताएका थिए । त्यसका लागि उनले पीडितहरूबाट पटकपटक गरी एक लाख ६५ हजार रुपैयाँ लिएका थिए ।

तर, त्यसपछि उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बुधबार काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारकाहीका लागि तामाङलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।