पाल्पा । तिनाउ गाउँपालिका–६, मस्याम चिदिसको लुम्पेक डाँडामा मंगलबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका तिनाउ गाउँपालिका भित्रका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको ४६ औं बैठकले पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम दिने निर्णय भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । घाइते नागरिकको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले दुर्घटनाका कारण सिंगो गाउँपालिका शोकमा डुबेकाले गाउँपालिकाले पालिका क्षेत्रभित्र सञ्चालन हुने सम्पूर्ण शिक्षण संस्था, सरकार, स्वास्थ्य तथा स्थानीय तह मातहतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।
बैठकले दुर्घटनाले गाउँपालिका भित्रका धेरै नागरिकको धनजनको क्षति भएको र आगामी दिनमा गाउँपालिकाको दुर्घटना संवेदनशील क्षेत्रहरुमा सवारी साधनको क्षमता भन्दा बढी यात्रु चढाई आवतजावत नगर्न नगराउन सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए । तिनाउ गाउँपालिका–६, मस्यामकी पूर्व वडासदस्य उर्मिला अस्लामीकोसमेत सोही दुर्घटनामा मृत्यु भएको छ । मस्यामको लुम्पेक डाँडामा भएको दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ भने ३६ दिनको बालिकासमेत १७ जना घाइते भएका छन् । डुम्रेबाट मस्याम शिखरडाँडा जाँदै गर्दा भएको लु १ज २३७१ नम्बरको मुस्ताङ जिप दुर्घटनाका चालक दानबहादुर चिदीलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिहेको जनाएको छ ।
ग्रामीण भेगमा क्षमताभन्दा बढी यात्रु बोक्ने, सोही जिपमा मालसामान ओसारपसार गर्ने प्रचलन पछिल्लो समयमा बढेको छ । जिल्लाका अधिकांश भेगमा चल्ने रातो प्लेटका पिकअप जिप (५ सिट क्षमता) ले १५/२० जना यात्रु बोकेर हिँड्ने गरेको स्थानीयको गुनासो छ । गाउँगाउँमा प्रहरी चौकी भएपनि निगरानी कम भएकाले यस्तो अवस्था आएको गुनासो स्थानीयको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईंले पक्की सडकबाहेक भित्री सडकमा यस्तो समस्या रहे पनि नियन्त्रण गर्न नसकिएको स्वीकारे ।