क्यानडासँगको एकदिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
नेपालले आजको खेलमा तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ । सम्भवत अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिंदै हेमन्तले डेब्यु गर्न दिनसक्छ ।
पछिल्लो खेलमा २० बलमा ५० रनको आक्रामक इनिङ खेलेका अनिललाई नेपालले थप मौका दिने देखिन्छ । ७६ रन बनाएका देव खनालले पनि मौका पाउनेछन् । लिग २ मा नभएका देव र अनिल अन्तिम खेलमा सानदार प्रदर्शन गर्ने सोचमा हुनेछन् ।
ओपनर आरोन जोनसनले पछिल्लो खेलमा ६५ रनको इनिङ खेलेका थिए । आक्रामक ब्याटर उनी नेपाललाई घातक बन्न सक्छन् । परगत सिंह, निकोलस किर्तोन र नवनित धलिवाल राम्रो ब्याटर हुन् ।
क्यानडाको तीव्र गतिको बलिङ आक्रामण त्यति बलियो छैन । तर स्पिनर साद बिन जफरले भने नेपाली ब्याटरलाई खुलेर खेल्न दिएका छैनन् ।
नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो ।