गाजा । दक्षिणी गाजापट्टीसशहर रफाहस्थित एउटा घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।
घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् । बम विस्फोटका समयमा धेरै विस्थापित उक्त घरमा बसिरहेका बताइएको छ । रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, “रफाहमा हालैका घण्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक बीभत्स आक्रमणमा विस्थापित गाजावासी बसिरहेको एउटा घर निसानामा परेको छ ।” इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै वाफाले जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा सैन्य कारबाहीका निम्ति योजना बनाउन सेनालाई निर्देशन दिएका छन् ।
गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए । इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको संख्या बढेको हो । रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसंघका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहरका खाली कृषि भूमि, विद्यालय र सडक किनार टेन्टले भरिएको छ ।