डिलेड । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा करियरको पाँचौँ शतक हिर्काएका छन् । योसँगै उनले भारतका रोहित शर्माको सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् ।
म्याक्सवेलले विस्फोटक इनिङ्स खेल्दै ५५ बलमा १२० रन बनाए । यस क्रममा उनले १२ चौका र ८ छक्का हिर्काए । उनको शतकको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा २ सय ४१ रन बनायो ।
३५ वर्षीय खेलाडीले १०२ टी–२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाका लागि ३०.८३ को औसतले २ हजार ४०५ रन बनाएका छन् । उनले यस क्रममा १० अर्धशतक पनि बनाएका छन् । रोहित शर्माले १ सय ५१ खेलमा ३१.७९ को औसतले ५ शतकका साथै २९ अर्धशतक हिर्काएका छन् । सूर्यकुमार यादव ४ शतकसहित दोस्रो स्थानमा छन् ।