गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– रूसी सेनाबाट फर्कन चाहने नेपालीलाई राज्यले के गर्दै छ ?

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन सरकार चुकेको आरोप लगाएका छन् ।

आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा रूसले नेपालीमाथि अमानवीय व्यवहार गरेको आरोप समेत लगाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित रहेको बैठकमा उनले भने, “मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रूसी सेनाले पक्राउ गरेको छ । रूसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदा समेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ?

रूसी सेनामा भर्ती भएका तर अहिले छोडेर फर्कन चाहनेलाई रूसले नेपाल फर्कन नदिएको उनले बताए ।

“जसले छोडेर जान्छु, नेपाल फर्कन्छु भन्नु भएको छ । उहाँहरूका लागि राज्यले के गर्दैछ ? सहज हुँदा राज्य नभए पनि हुन्छ । तर, यस्तो अवस्थामा राज्यले उपस्थिति देखाओस्,” महामन्त्री शर्माले भने ।

अवैध तरिकाले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १४ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी नेपाल सरकारले प्राप्त गरिसकेको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा रूसी सेनामा भर्ती भएका १४० जनाभन्दी बढीका परिवारले उनीहरूलाई फिर्ता गर्नको लागि अनुरोधसहितको निवेदन दिएका छन् ।

रूसी सेनामा ठूलो संख्यामा नेपाली भर्ती भएको अनुमान छ । तर, रुसले यसबारे आधिकारिक जानकारी नेपाललाई दिएको छैन । नेपालले बारम्बार जानकारी माग्दा पनि रूसले अटेर गरेको छ ।