कराँची । पाकिस्तानमा यतिबेला आम निर्वाचनको परिणाम धमाधम आइरहेको छ । बिहीबार भएको मतदानमा देशव्यापी आम निर्वाचन र ४ राज्यमा विधानसभाको चुनाव भएको थियो ।
डनका अनुसार ४८ सिटमा पूर्वक्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी समर्थित निर्दलीय उम्मेदवारले जितेका छन् । बिलवाल भुट्टोको पार्टीले १९ सिट जितेको छ ।
तीन पटकका प्रधानमन्त्री नवाज शरिफको पार्टी ३७ सिटमा जितसहित दोस्रो स्थानमा छ । शरिफले एक सिटमा हार्दा लौहरको सिटमा भने जितेका थिए । तर खानको पार्टीले शरिफको जितमा प्रश्न उठाएको थियो । नवाज शरीफको पक्षमा खसेकोभन्दा बढी मत गणना गरिएको पीटीआईले एक ट्विटमा भनेको छ । “गणित वैध मतहरूको कुल संख्या कुल मतको संख्याभन्दा बढी छ । नवाज शरीफलाई जनमत चोरेकोमा लाज लाग्नु पर्ने हो,’ पीटीआईले गरेको ट्विटमा लेखिएको छ ।
यो ट्विटसँगै एउटा तस्बिर पनि शेयर गरिएको छ जसमा कुल मत संख्या २ लाख ९३ हजार ६९३ लेखिएको छ । साथै, कुल वैध मत संख्या २ लाख ९४ हजार ४३ लेखिएको छ । तर, पाकिस्तान मुस्लिम लिग नवाज)ले ट्विट गर्दै नवाज शरीफले एनए १३० ठूलो मतान्तरले जितेको बताएको छ । यद्यपि यी दाबी राजनीतिक दलका हुन् । यस विषयमा निर्वाचन आयोगले केही बोलेको छैन ।