एकदिवसीय पहिलो खेलमा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । घरेलु मैदानमा आयोजित एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ ।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृंखला खेल्न लागेको हो । फेब्रुअरी मध्यदेखि आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृंखला खेल्न लागेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि यी दुई टिमले शनिबार र सोमबार क्रमशः दोस्रो र तेस्रो खेल खेल्नेछन् ।

शृङ्खलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिममा नयाँ रहेका खेलाडीहरूका निम्ति यो प्रमाणित गर्ने अवसर भएको बताएका थिए ।

“बलिङ अट्याकमा करण दाइ मिस हुनेछन् । करण दाइ र गुल्सनलाई यो शृंखलामा आराम दिइएको छ । सोम दाइ र ललित दाइको अनुभवसँगै पीएम कपमा राम्रो प्रदर्शन गरेका नयाँ बलर आउनुभएको छ । उहाँहरूका लागि अवसर हुन सक्छ यो प्रतियोगिता,” रोहितले भने, “पुबुदु सरसँग हामीले पनि काम गर्यौं । पुबुदु सरलाई पनि हाम्रो बारेमा धेरै थाहा छ । सन् २०१४ मा उहाँकै प्रशिक्षणम नेपालले विश्वकप खेलेको थियो । त्यसबाट नै हामी प्रभावित भएकाले उहाँप्रति मेरो ठूलो सम्मान छ । चुनौतीहरू जति आउँछन्, त्यसलाई लिएर सबैजनाले राम्रो प्रदर्शन गर्न पर्छ ।”

यस्तै, क्यानडाका कप्तान साद बिन जफरले पहिलोपटक शृंखलाका लागि नेपाल आउन पाउँदा उत्साहित रहेको प्रतिकृया दिएका थिए ।

“नेपालमा शृङ्खलाका लागि पहिलोपटक आउन पाँउदा निक्कै उत्साहित छौँ । नेपालले नेपालमा खेल्ने सबै खेललाई नजिकबाट हेरिरहेका हुन्छौँ, यहाँको समर्थकलाई पनि । हाम्रो लागि यहाँ खेल्नु कस्तो हुन्छ भन्ने भावना सँधै हुन्थ्यो,” जफरले भने, “एकदिवसीय खेलको शृङ्खला आउँदा नेपालमा हाम्रो कुनै पनि खेल नहुँदा निक्कै दुखी थियौँ । तर, अहिले दुवै क्रिकेट बोर्डले यो शृङ्खलाको आयोजना गरेका छन् । यसले हामीलाई नेपाल आएर क्रिकेट खेल्ने अवसर दिएको छ । नेपालमा राम्रो शृङ्खला खेल्ने लक्ष्यमा छौँ ।”