देशमा हालसम्म लोकतान्त्रिक अभ्यास छैन : प्रमुख सचेतक परियार

  • प्रकाशित मिति : February 6, 2024
  • नयाँ सवाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले देशमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका हुन् ।

उनेल संसद्‌मा दलित समुदायका सांसदहरूको प्रतिनिधित्व भएपनि मन्त्रिपरिषद्मा एकजना पनि फुल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लंग पार्ने बताए । उनले अझैपनि महिला तथा दलितहरूको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको बताए । देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको टिप्पणी गरे । गणतन्त्रपनि राजतन्त्र भन्दा धेरै फरक नदेखिएको बताए ।

उनले भने, “हाम्रो अभ्यासमा संघीयता छैन । हाम्रो राजनीतिको अभ्यासमा संघीयता छैन । संविधानमा संघीय शासन प्रणालीको परिकल्पना गर्‍यौँ तर त्यो हाम्रो जीवनमा अवलम्वन गर्न सकेका छैनौँ । लोकतान्त्रिक अभ्यासको कुरा गर्ने हो भने आज सदनमा सबै राजनीतिक पार्टीबाट दलित समुदायको प्रतिनिधित्व छ । तर मन्त्रिपरिषद्मा एकजना दलित फुल मन्त्री हुँदैन । यो हुँदाखेरी हामी लोकतान्त्रिक छौँ भन्नु भनेको आफैँले आफैँलाई ढाँट्नु हुन्छ । त्यस अर्थ हामी लोकतान्त्रिक पनि छैनौँ ।” उनले राजनीतिक दलहरूका कारण संसद्को सार्वभौमिकता नरहेको पनि बताए ।