काठमाडौँ । गणतन्त्रमाथि देखिएको खतरालाई सामना गर्न अपिल गर्दै राजनीतिक दलका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । मधेस प्रदेशका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा (एस), तराई मधेस लोकतान्त्रिक पार्टीका नेतालगायत राजनीतिका बौद्धिक व्यक्तित्वहरूले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।
देशमा पछिल्लो समय गणतन्त्रको विरुद्धमा भइरहेको विभिन्न गतिविधिहरूको बारेमा छलफल गर्न हिजोदेखि नै धनुषाको जनकपुरस्थित तमलोपाका नेता डा.विजयकुमार सिंहको घरमा बैठक चलेको थियो । आज सम्पन्न बैठकले जारी गरेको विज्ञप्तिमा तमलोपका अध्यक्ष वृषेशचन्द्र लाल, काँग्रेसका नेता एवं प्रदेश सांसद रामसरोज यादव, नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, वाम बुद्धिजीवी रोशन जनकपुरी, नेकपा (एस)का धनुषा अध्यक्ष रामचन्द्र पण्डित, माओवादी केन्द्रका नेता श्रीनारायण प्रतिहस्त, नेकपा (एस) का नेता शीतल झा, तमलोपाका महासचिव विजयकुमार सिंह विजयकुमार सिंह, नेपाली काँग्रेसका नेता जीवनाथ चौधरी, एमालेका नेता सन्तोष यादव र तमलोपाका रामजी रायले हस्ताक्षर गरेका छन् ।
तमलोपाको अगुवाइमा बसेको सो बैठकमा जसपा, लोसपा र जनमत पार्टीका नेताहरू अनुपस्थित थिए । तमलोपाका नेता उमेश मण्डलले बैठक र छलफलको बारेमा जसपा, लोसपा र जनमत पार्टीका नेताहरूलाई पनि जानकारी गराए पनि उनीहरू किन आएनन् भन्ने आफूलाई जानकारी नभएको बताए । विगत केही दिनदेखि विभिन्न नाममा जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरू राजतन्त्र फर्काउने षड्यन्त्रको व्यापार गरिरहेको दाबी नेताहरूले गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘जनताको सर्वोच्चता र संविधानको प्रस्तावना र त्यसको अपरिवर्तनीय प्रावधान विपरीत, अराजकता फैलाउने तत्त्वमाथि सरकार र प्रशासनको कारगर कारबाहीको अभावले आउने दिनहरूमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरूको ध्यानाकर्षण होस् ।’ जनताको लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै नेताहरूले यसले जनताको सर्वोच्चता अर्थात् देश र राज्यको सम्पूर्ण शक्ति जनतामा निहित रहेको स्थापित भएको उल्लेख गरेका छन् ।
‘गणतन्त्र, लोकतन्त्र र संघीयता हाम्रो प्राण हो, जनताको निमित्त संघर्ष नगरेका नहोमिएकाहरू यसको अर्थ र मूल्य बुझ्न सक्दैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सहिदहरूको अमूल्य शहादत र जनताको निरन्तरको संघर्षले प्राप्त यस उपलब्धिको संरक्षण र संवर्द्धनको निमित्त गणतन्त्रवादीहरू कुनै पनि मूल्य चुकाउन सदैव तत्पर रहेको सबै प्रतिक्रान्तिवादी प्रतिक्रियावादीहरूलाई चेताउँदछौँ ।’ नेपालमा राजतन्त्रको इतिहास आततायी, छलफलपूर्ण आक्रमण, जीउज्यान, इज्जत र सर्वस्वहरण, नाक–कान काट्ने, व्यक्तिगत अनुचित कारणले राज्यको शक्ति बन्धक–बिक्री गर्ने, जन–अधिकार र लोकतन्त्र खोस्ने, प्रतिगमन गर्ने, सत्तालिप्साको निमित्त मारकाट गरी वंश नै निर्मूल गर्ने र धर्मको आवरणमा सोझा–साझा जनसाधारणलाई धूर्तता पूर्ण ढंगले भ्रमित गरी निरङ्कुश राज गर्ने कुकृत्यले भरिएको इतिहास रहेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।