माओवादी केन्द्रको विधान अधिवेशनपछि एकता हुन्छ : अध्यक्ष यादव

  • मिति : माघ २२, २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढ्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले माओवादी केन्द्रको आगामी विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रका बिचमा एकता प्रक्रिया अगाडि बढ्ने बताएका हुन् । उनले नेसपा र माओवादी केन्द्रबिच एकता भएर एकता महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए ।

उनले नेसपाको सर्वसम्मत निर्णय नै माओवादीसँग एकताका लागि वार्ता, संवाद गर्ने भएको भन्दै सो निर्णय अनुरुप काम भइरहेको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि एकताको लागि तयार रहेको बताए । उनले माओवादी केन्द्रको विधान अधिवेशनपछि संयोजन समितिको बैठक बसेर सबैकुरा टुंग्याउने जानकारी दिए ।