इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

  • प्रकाशित मिति : February 4, 2024
  • नयाँ सवाल

काठमाडौँ । सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना भएको छ । आइतबार विशेष अदालतले सजाय निर्धारण गर्दै ३ वर्ष कैदको फैसला सुनाएको हो ।

गत माघ ७ गते कसुर ठहर भई आइतबार सजाय निर्धारण हुँदा तामाङलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । आइतबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।

सजाय निर्धारण गर्दै इजलासले प्रतिवादी इच्छाराज तामाङलाई तीन वर्ष कैदसहित बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ कायम भएको छ । त्यस्तै इच्छाराजको श्रीमती सिर्जना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरिएको छ ।

अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय गरिएको छ भने २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला भएको छ । त्यस्तै गरी प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला गरिएको छ ।