काठमाडौँ । बलात्कार आरोपमा नेपाल प्रहरीका एक जना पूर्वसई विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौँको कलंकीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादवलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो । यादवले पुस १७ मा कलंकीस्थित पीडितको डेरामा गएर बलात्कार गरेको आरोप छ ।
घटनाबारे अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अंगुर जिसिले बताए । उनले भने,‘मुद्दा अदालतमा दर्ता भएर थुनछेक सुरु भएको छ ।’ डेरामा पानी खाने निहुँमा प्रवेश गरेर यादवले ‘एसिड छ्यापेर कुरुप बनाउँछु’ भनेर बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् । आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए ।