काठमाडौँ । बुधबार दिनभरि जसो देशभरिका यातायात कार्यालयका लाइसेन्स प्रणाली (सवारी चालक अनुमति पत्र) ठप्प भयो। जसबाट सवारी चालक अनुमति (लाइसेन्स) लिन प्रक्रिया अघि बढाएका झण्डै १ हजार सेवा ग्राहीले लिखित परीक्षा दिन पाएनन्।
यसैगरी लिखित परीक्षा दिनको लागि बायोमेट्रिकस् गर्न यातायात कार्यालय पुगेका सेवा ग्राहीहरूले बायोमेट्रिकस् गर्न पाएनन्। यसैगरी सर्भर डाउन हुँदा कार्यालयका अन्य सेवामा पनि अवरोध आयो। यातायात व्यवस्था विभागका अनुसार सुविसुको फाइबरमा ब्रेक हुँदा यस्तो समस्या आएको हो। ‘यो भनेको प्राविधिक त्रुटि हो। तारमा समस्या आउँदा या तार चुँडिदा यस्ता अवस्था आउँछ’ विभागका एक प्राविधिक कर्मचारीले भने। सर्भर सेवा नचल्दा यातायात कार्यालयले ठूलो नोक्सानी व्यहोर्नु परेको छ।
यातायात कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीका अनुसार देशभरिका सबै यातायात कार्यालयमा बुधबार बिहान ११ बजेर ३० मिनेट देखि अपराह्न ४ बजेर ४५ मिनेटसम्म सर्भर ठप्प भयो। ‘सर्भर चल्न नसके पछि बुधबार हुने भनिएको लिखित परीक्षा शुक्रबारको लागि सार्यौ। यसैगरी बिहीबार र शुक्रबार हुने भनिएको परीक्षा पनि सरेको छ’ कपालीले भने,‘सर्भर डाउन हुँदा बुधबार २ सय ३६ जना सेवा ग्राहीको बायोमेट्रिक गर्नुपर्नेमा ८० जनाको मात्र गर्न पायौँ।’
उनका अनुसार शुक्रबार यातायात कार्यालय ललितपुरमा मात्रै १ सय ३१ जना सेवा ग्राहीको लिखित परीक्षाको मिति तय गरिएको थियो। ‘एक दिन मात्र सर्भर डाउन भयो तर यसले ४/५ दिनसम्म असर गर्छ’ कपालीले भने, ‘आज (बुधबार) दिनभरि २ सय भन्दा बढी सेवा ग्राहीले हामीसँग झगडा गर्नुभयो। सेवाग्राहीलाई सम्झाउन मुस्किल पर्यो।’ यातायात व्यवस्था विभाग स्रोतका अनुसार उपत्यका ४ वटा कार्यालय ललितपुर, भक्तपुर, चाबहिल र ठूलो भर्याङमा हप्तामा ४ दिन सोमबार देखि बिहिबारसम्म लिखित परीक्षा हुन्छ। ट्रायल परीक्षा भने हप्तामा ६ दिन हुन्छ।
काठमाडौँ बाहिरका कार्यालयहरूमा भने काहीँ हप्तामा एक दिन, काहीँ हप्तामा दुई दिन लिखित परीक्षा र ट्रायल परीक्षा हुने गरेको छ। विभागका एक कर्मचारीका अनुसार बुधबार सर्भर डाउन हुँदा उपत्यका बाहिरका कार्यालयहरूमा त्यति असर परेन तर उपत्यका कार्यालय भने यसले ठूलो नोक्सानी पारेको छ।
हाल देश भरी ३३ वटा कार्यालयबाट लाइसेन्सको लागि लिखित तथा ट्रायल परीक्षा हुने गर्छ।