तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • मिति : माघ १५, २०८०
1K Shares

तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आइतबार बेलुका ८:५० बजे आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

तनहुँका डिएसपी मोहन बहादुर खाणका अनुसार मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानालाई उपचारका लागि आबुखैरेनी अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको राति १० बजे उनको मृत्यु भएको डिएसपी खाणले जानकारी दिए।
मिनि ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।