पेरिस । फ्रान्सेली खर्बपति व्यापारी तथा लक्जरी ब्रान्ड लुँई भिटोँका संस्थापक बर्नार्ड अर्नाल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सको रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार एलभीएमएचका अध्यक्ष तथा सीईओ अर्नाल्टको नेटवर्थ २ खर्ब ७ अर्ब ८० करोड डलर रहेको छ । शुक्रवार एकैदिन आर्नोको सम्पत्ति २३ अर्ब ६० करोड डलरले बढेको थियो ।
उक्त दिन अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कको सम्पत्ति २ खर्ब ४ अर्ब ५० करोड डलर थियो । शुक्रवार एलभीएमएचको बजार पुँजीकरण ३ खर्ब ८८ अर्ब ८० करोड डलर पुगेको छ । टेस्लाको बजार पुँजीकरण सोहीदिन ५ अर्ब ८६ अर्ब १४ करोड डलर थियो । सूचीको तेस्रो स्थानमा रहेको अमेरिकी अनलाइन खुद्रा कम्पनी एमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसको नेटवर्थ १ खर्ब ८१ अर्ब ३० करोड डलर थियो ।
हालै सार्वजनिक भएको एलभी एमएचको त्रैमासिक प्रतिवेदनअनुसार गएको वर्ष अन्तिम त्रैमासमा कम्पनीको बिक्री १० प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीले करिब २४ अर्ब युरो बराबरको सामान बिक्री गरेको थियो । कम्पनीका पर्फ्यूम, कस्मेटिक्स, घडी आदिको बिक्री पनि बढेको थियो । चीन र अमेरिकामा कोभिडपछि जनजीवन सामान्य बन्दै गर्दा वाइन र स्याम्पेनको बिक्री घटेको छ ।
सीईओ मस्कले यो वर्ष बिक्री सुस्ताउने चेतावनी दिएपछि बिहीबार एकैदिन टेस्लाको शेयर १२ प्रतिशतले घटेको थियो । बिहीबार एकैदिन कम्पनीको बजार पुँजीकरण ८० अर्ब डलर गुमेको थियो । अघिल्लो महिना यो कमी १ खर्ब २० अर्ब डलर थियो ।