खजुरे ब्रो फिल्ममा हर्क साम्पाङको अभिनय

  • प्रकाशित मिति : January 28, 2024
  • नयाँ सवाल

धरानका मेयर हर्क साम्पाङ फिल्ममा देखिने भएका छन्। उनी फिल्म ‘खजुरे ब्रो’ मा विशेष भूमिकामा देखिँदैछन्।

फिल्ममा उनको एक मिनेट लामो दृश्य छायांकन गरिएको निर्माण टिमले जानकारी दिए। ‘फिल्ममा उहाँको विशेष भूमिका छ। उहाँलाई मेयरकै भूमिका देख्न सकिन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने।

फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ।

सुरज सुनुवारले निर्देशन गरिरहेको फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ। कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन्।

दिव्यदृश्य इन्टरटेनटमेन्टको ब्यानरमा बनिरहेको फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, शान्तिला तामाङ, सुजाता राईलगायत कलाकारको अभिनय रहनेछ। ‘खजुरे ब्रो’ नीति शाहको डेब्यू फिल्म हो।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर विसंखेको छायांकन, अनमोल गुरुङको संगीत रहेको छ। यो फिल्म अगामी वर्ष जेठमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ।