चीनसँग हामी विकासमा सहकार्य गर्न इच्छुक छौं: शशांक कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेतृत्वको टोलीसँग आइतबार भएको छलफलमा बोल्दै उनले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको बताए।

कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको उनले बताए। चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको कोइरालाले बताए।

‘नेपाल र चीन नजिकका मित्र हुन्। नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ। चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौं,’ कोइरालाले भने।

नेपालमा कोभिड १९ र भूकम्प जाँदा चीन सरकारले गरेको सहयोगका लागि उनले धन्यवाद दिएका छन्। ‘कोरोनाका बेला चीन सरकारले स्वास्थ्य सामग्री धेरै नै उपलब्ध गराएको थियो। नेपाल चीनसँग सहकार्य र सम्बन्ध अझै विस्तार गर्न चाहन्छ,’ कोइरालाले भने।

चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको उनले बताए।