पत्रकारिता क्षेत्रको सुधारका लागि हामी आवश्यक सहयोग गर्छौ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’को आज विमोचन गर्दै उनले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताए ।

उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्छ, त्यसका लागि हामी सबैको दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासंघको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।

उपप्रधानमन्त्री खड्काले जहानियाँ राणाशासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासनविरुद्ध जागरण, एकदलीय पञ्चायतविरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना तथा हालको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।