संस्थालाई पुर्याएको योगदानप्रति फेकनद्रारा राजथलालाई सम्मान

काठमाडौं, पौष २९ । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले कार्यसमितिकी निवर्तमान कार्यसमिति सदस्य रेश्मा राजथलालाई सम्मान गरेको छ ।

काठमाडौंको भक्तपुर बस स्टेण्डमा रहेको ओएसिस एब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेडकी इन्टरनेसनल रिलेसन डाइरेक्टरसमेत रहेकी उनलाई फेकनले गत शुक्रबार सम्मान गरेको हो । फेकनको १३ औं साधारणसभामा उनलाई उनले संस्थालाई पुर्याएको योगदानको सम्मान गर्दै सम्मान गरिएको फेकनले जनाएको छ । शिक्षा राज्यमन्त्री प्रमिला यादव, फेकनका अध्यक्ष राजु निरौलालगायतले उनलाई सम्मान गरेका हुन् । फेकनको गर्विलो इतिहास निर्माण गर्न फेकनलाई शैक्षिक परामर्शको क्षेत्रमा गर्वलायक संस्था बनाउन राजथलाले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको सम्मानपत्रमा लेखिएको छ ।
राजथला गत असार २३ गते भएको फेकनको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार थिइन् । उनी फेकनलाई सबैको साझा थलोको रुपमा विकास गर्नुपर्ने बताउँछिन् । ‘मैले उपाध्यक्ष भएर केही राम्रा काम गर्ने योजना बनाएको थिएँ, त्यो पूरा गर्न पाइन तर पनि म बाहिर रहेर जे गर्न सक्छु त्यो गर्छु’ उनी भन्छिन् ‘व्यवसायी साथीहरुले पनि सबै एकजुट भएको हेर्न चाहनुभएको छ, जो जहाँ छौं शैक्षिक परामर्शको लागि नै योगदान गर्नुको अरु विकल्प छैन ।’

राजथलाले आफू कार्यसमिति सदस्य हुँदा पनि आफ्ना धेरै योजना लागू गरेको बताइन् । संस्थाले दिएको सम्मानबाट आफूलाई थप जिम्मेवारी प्रदान भएको उनको भनाई छ । उनले शैक्षिक परामर्शदातालाई राज्यले हेर्ने नजर सकारात्मक नभएको पनि गुनासो गरेकी छिन् । ‘हामी उच्च शिक्षाको सम्भावना खोज्दै आएका विद्यार्थीको भविष्य बनाउन उपयुक्त सल्लाह दिन्छौं’ उनी भन्छिन् ‘हाम्रै कारणले धेरै विद्यार्थीको भविष्य बनेको छ, आफ्नो दायित्व पूरा गर्न नसक्ने सरकारले यो व्यवसायमाथि नै प्रहार गरिरहँदा दुःख लागेको छ ।’ उनले शैक्षिक परामर्श व्यवसायीहरुलाई सरकारले बनाउने गरेका कानुनका कारण बेलाबेला समस्या आएको भन्दै सरकारसँग व्यवसायमैत्री वातावरण बनाइदिनका लागि समेत अनुरोध गरेकी छिन् ।