लैङ्गिक हिंसा र मधेसको अवस्था

  • प्रकाशित मिति : December 4, 2023
  • नयाँ सवाल

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । नेपालले आगामी सन् २०३० भित्रमा महिला तथा किशोरीहरूलाई सशक्त बनाउन र लैङ्गिक समानता हासिल गर्ने दिगो विकासको लक्ष्य लिएको परिप्रेक्ष्यको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले विशेष महत्त्व राख्छ । भर्खरै नेपालले समलिङ्गी विवाहलाई मान्यता दिएबाट यस अभियानमा महत्त्वपूर्ण उपलब्धि भएको छ ।

अब मधेस प्रदेशमा लैङ्गिक हिंसाको अवस्था कस्तो छ र नेपालले लिएको लक्ष्य पूरा गर्न कस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ बुझ्न जरुरी छ । मधेस प्रदेशमा लैङ्गिक हिंसाको अवस्था भयावह छ । असुरक्षित नाबालिकाहरू, बालविवाह, अनमेल विवाह, दाइजो प्रथा, बोक्सी प्रथा, शिक्षामा छोराछोरीबीच विभेद, “आफ्नी छोरी छोरी, अर्काकी छोरी बकरी” भन्ने सामाजिक प्रवृत्तिले गर्दा मधेसमा लैङ्गिक हिंसाले डरलाग्दो स्वरूप धारण गरेको छ ।

यो प्रदेशमा सहज बाटोघाटो, उब्जाउ भूमि, स्कुल, स्वास्थ्य चौकीको उपलब्धता भए पनि मधेस प्रदेशमा सामाजिक विकासको अवस्था अत्यन्त दयनीय छ । त्यस्मा पनि सीमान्तकृत वर्ग, दलित वर्ग, बालिका, महिला वर्ग आदिको अवस्था अझ दयनीय छ । कतिसम्म भने यहाँको सीमान्तकृत वर्गमा आमाको गर्भमा नै रहँदा छोरीको विवाह टुङ्गो गरिदिने र १०–११ वर्षभित्रमा विवाह गरिसक्ने प्रथाले त्यस्ता बालिकाले विवाह के हो ? परिवार के हो ? लैङ्गिक हिंसा के हो ? शिक्षा, स्वास्थ्य र मानव अधिकार के हो ? सम्पत्तिमाथिको महिलाको हक के हो ? शिक्षाको अधिकार आदि कुनै पनि कुरा बुझेको हुँदैन र विस्तारै लैङ्गिक हिंसाको चपेटामा पर्दछन् । नाबालिकामाथि यौन हिंसा मधेसमा जटिल समस्याका रूपमा रहेको छ । घरमा आफन्त नातेदार, टाढाका नातेदार, चिनजानका व्यक्ति, छिमेकी, शिक्षक आदिबाट नाबालिकाहरू हिंसामा पर्छन् । अधिकांश यस्ता घटना गाउँमा नै दबाइन्छन् । प्रहरीकोमा उजुरी पर्दैन । राज्यसँग त्यसको तथ्याङ्क छैन ।

मधेसको सबैभन्दा ठुलो रोग भनेको बालविवाह हो । छोरीलाई सानैमा विवाह गरिदिए आफ्नो भार कम हुने सोचाइ माइती पक्षको हुने गर्छ । उमेर बढी भए र बढी पढाए बढी दहेज दिनुपर्ने डरले जति सक्दो सानै उमेरमा छोरीलाई विवाह गरी पठाइने प्रचलन मधेसमा छ । फलतः एउटा केटीले आफू शिक्षित हुने, वयस्क हुने र बच्चा पाउन सक्षम हुने अवसर नै पाउँदैनन् । यहीँबाट लैङ्गिक हिंसा सुरु हुन्छ र यो जीवनभर चलिरहन्छ । दोस्रो दहेज प्रथाले मधेसमा गहिरो जरो गाडेको छ । समाजमा बढ्दो आडम्बर, दोखासिकीले गर्दा यो प्रथा अझ भयावह भइरहेको छ । दहेज बढी दिन सके राम्रो केटो पाउने दिन नसके केटी जति नै सक्षम वा असल भए पनि आफू सहरको केटा नपाउने समस्या मधेसमा छ ।

यति मात्र होइन, विवाह गरेर पतिको घर गइसकेपछि पनि दहेजका लागि केटीलाई दबाब दिने, सासू, ससुरा, नन्द, आमाजू, पति, देवर सबै परिवार भएर अनावश्यक टर्चर दिने, हिंसात्मक गतिविधि गर्ने, घरबाट निकाल्ने, जबरजस्ती माइती पठाउने आदि कुरा समान्य जस्तै लाग्छन् मधेसमा । यसले गर्दा लैङ्गिक हिंसा विकराल रूप लिएको छ । मधेसमा दहेज प्रथा महिलाको विकासका लागि सबैभन्दा ठुलो बाधकका रूपमा रहेको छ । छोरीलाई उमेर पु¥याएर उच्च शिक्षा दिलाएर र सक्षम गराएर विवाह गर्ने हो भने दहेज बढी दिनु पर्छ । फलतः यसले छोरीले जीवनभर दुःख पाउने, लैङ्गिक हिंसामा पर्नुपर्ने हुन्छ । हुन त नेपाली महिलालाई कानुन र नीतिमा हक अधिकार दिइएको छ । वर्तमान देवानी संहिताले अविवाहित वा विवाहित छोरीलाई सधैँ अंशको हक रहने कानुनी प्रावधान पनि गरेको छ तर यसको सशक्तीकरण अपर्याप्त रहेको छ र व्यावहारिक रूपमा लागु भएको छैन । समाजमा महिलाहरू भोग्याको साधन छन् र यिनीहरूमाथि हिंसा गर्नु कुनै अपराध होइन भन्ने मानसिकताले पनि लैङ्गिक हिंसा बढाएको छ ।

तेस्रो, मधेस प्रदेशमा बोक्सी प्रथाको माध्यमबाट कठोर लैङ्गिक हिंसा भइरहेको छ । समाजका कमजोर तप्काका महिला जस्तैः विधवा, वृद्ध, अशक्त, सहाराविहीन, वर्गलाई त्यहाँको समाजले बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउने, अमानवीय तवरले कुटपिट गर्ने, कपाल मुण्डन गर्ने, भुत्ल्याउने, गाउँ निकाला गर्ने, समाज बहिष्कार गरी अनेकौँ कष्ट दिने र विचरा बेसहारा ती महिलाको पक्षमा कोही पनि सहारा नहुने र कानुनको दृष्टि पनि तत्काल नपर्ने भएकाले मधेसमा लैङ्गिक हिंसा बढी छ ।

मधेसमा युवामा बढ्दो मादक पदार्थको सेवन, बढ्दो नशालु पदार्थको प्रयोगले पनि लैङ्गिक हिंसा बढाएको छ । ग्रामीण समाजका केही युवा साँझदेखि मादक पदार्थ सेवन गरी घर जाने र आफ्नो पुरुषार्थ देखाउन श्रीमतीलाई गाली गलौज, कुटपिट गर्ने र त्यसमा घरका अन्य सदस्यले पनि प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने कार्यले पनि मधेस लैङ्गिक हिंसापीडित छ । हाल बढ्दो वैदेशिक रोजगारीको कारणबाट पनि लैङ्गिक हिंसा बढ्दो छ । घरका पुरुष रोजगारीका सिलसिलामा विदेश गएपछि एक्लै बस्न महिलाहरूलाई अत्यन्त कठिन छ । पुनः यसरी एक्लै बसेकी महिला आफ्नो पैतृक घर छोडी बच्चाको शिक्षादीक्षाका लागि सहर आएर बस्दा त उनीप्रति समाजले हेर्ने दृष्टिकोण र उनले लैङ्गिक हिंसाबाट बच्न गर्नुपर्ने सङ्घर्ष बडो गाह्रो छ । फलतः पछि विदेशबाट पति फर्किएर आएपछि पनि उनको पारिवारिक जीवन सुखद नहुन सक्ने र उनी सधैँ हिंसाको सिकार हुनुपर्ने अवस्था पनि देखिन थालेको छ ।

लैङ्गिक हिंसा केवल शारीरिक शोषण वा हिंसा मात्र होइन, एक महिलालाई सानै उमेरमा विवाह गरिदिनु, विवाहपछि उनको अवस्था बारे ध्यान नदिनु, उचित शिक्षादीक्षा नदिनु,  सक्षम नागरिक बनाउन कोसिस नगर्नु, सानैमा बच्चा जन्माउन बाध्य गर्नु र उनको क्षमताभन्दा बढी काम लगाउनु, राम्ररी खान लगाउन नदिनु आदि सबै विषय लैङ्गिक हिंसाभित्र पर्दछन् । मधेस प्रदेशमा यस्ता कुरा व्याप्त छन् । मधेसमा आधाभन्दा बढी महिला आफ्नै पति वा पार्टनरबाट शारीरिक, यौनजन्य तथा मानसिक हिंसाको सिकार बनिरहेका छन् ।

एउटा चित्रण गर्दछु । मधेसमा एक परिवार छ मध्यम स्तरको, घरमा छोराको विवाह गर्नु छ । छोराले राम्ररी पढेन, कुनै पनि सीप पनि सिकेन, अब विवाह गर्ने बेलामा लमीले केटी पक्षलाई वर्णन गर्छ । बडो राम्रो केटो छ । जग्गाजमिन धेरै छ । काम पनि गर्दछ । सज्जन छ आदि आदि । वास्तविकताभन्दा धेरै बढी बढाएर । किनकि लमीलाई केटी पक्षबाट बढी दहेज दिलाउनु छ । कुरा अघि बढ्छ, विवाह हुन्छ । केटी घर आउँछिन् । ठुलो परिवारका सदस्यको भान्सा पार लगाउनु उनका लागि कठिन हुन्छ । कसैले पनि सघाउँदैनन् । बुझ्दै जान्छिन् । केटो भने जस्तो सज्जन छैन । नोकरी वा इलम पनि केही छैन । बेलुका मादक पदार्थ सेवन गरेर घर आउँछ ।

१०–१५ दिन त केही बोल्दिनन् । तर विस्तारै नोकरी खै त मेरो खर्चका लागि अलि पैसा चाहियो भन्न थाल्छिन् । अब केटोको पुरुषत्व उग्र हुन्छ । तँलाई मेरो कामको के मतलब भनी कुट्न थाल्छ । पैसा चाहिए तेरो माइतबाट लिएर आइज, मलाई व्यवसाय गर्न तेरो माइतबाट पैसा मगाएर ल्याइदे भन्न थाल्छ र भोलिदेखि रातमा अझ ढिलो आउन थाल्छ । विवाह भएको छ । केही समयमा बच्चा त हुने नै भयो । अब यी चेलीमाथि लैङ्गिक हिंसा भयो कि भएन ? छलफलको विषय हुनु पर्छ ।