हरित जलवायु कोषमा तीन अर्ब डलर सहयोग गर्ने अमेरिकाको घोषणा

दुबई । उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसंघको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका निम्ति तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन् ।

ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भनिन्, “आज हामी काममार्फत विश्वले यस संकटको सामना कसरी गर्न सक्छ र गर्नुपर्छ भनेर प्रदर्शन गरिरहेका छौँ ।”अमेरिकी कंग्रेसले अनुमोदन गर्नुपर्ने यो रकम सन् २०१० मा स्थापित हरित जलवायु कोष (जीसीएफ)मा जानेछ ।

सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा विकासशील मुलुकका निम्ति उक्त कोषमा अमेरिकाले अन्तिमपटक तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।विश्वको सबैभन्दा ठूलो जलवायु कोषले पाकिस्तानमा सौर्य प्यानल वा हाइटीमा बाढी व्यवस्थापन गरेजस्तै विकासोन्मुख देशहरूमा अनुकूलन र न्यूनीकरण परियोजनाका निम्ति अनुदान र ऋण प्रदान गर्छ ।

अमेरिकाले सहयोग घोषणा गर्नुअघि जीसीएफमा १३ अर्ब ५० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाइएको थियो ।धनी मुलुकहरूले जलवायु परिवर्तनको सामना गर्न विकासशील राष्ट्रहरूलाई सहयोग गर्ने वित्तीय प्रतिबद्धता पूरा गर्न असफल हुनुले यससम्बन्धी वार्तामा तनाव र अविश्वास बढाएको छ ।

जलवायु परिवर्तनका निम्ति कम जिम्मेवार विकासशील देशहरूले ‘चरम मौसम’को बढ्दो क्रूर र महँगो परिणामको अनुकूलन गर्न र स्वच्छ ऊर्जा स्रोतमा उनीहरूको संक्रमणका निम्ति धनि प्रदूषक राष्ट्रहरूबाट समर्थन खोजिरहेका छन् ।धनी देशहरूले गरिब राष्ट्रहरूलाई वार्षिक रूपमा १०० अर्ब अमेरिकी डलरको जलवायु वित्तपोषण आपूर्ति गर्ने छुट्टै प्रतिज्ञामा जीसीएफले भूमिका खेल्छ । तर, त्यो प्रतिज्ञा सम्भवतः दुई वर्ष ढिला गरी सन् २०२२ मा मात्र पूरा भएको थियो ।