ताप्लेजुङका महिलाको आम्दानीको स्रोत बन्दै अल्लो

ताप्लेजुङ ।  ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो पछिल्लो समय ताप्लेजुङका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आउनुभएको छ । पोपेबुङ अल्लो प्रशोधन तथा कपडा उद्योग दर्ता गरेर घरबाटै उद्योग सञ्चालन गर्दै आएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालन गर्नका लागि परिवारका तीन जना परिचालन हुँदै आएका छन् ।

शेर्पाले भन्नुभयो, ‘खर्च कटाएर वर्षको दुईदेखि तीन लाख रुपैयाँसम्म कमाउँदै आएको छु ।’ उहाँका अनुसार मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । यहाँ उत्पादित अल्लोको कपडा गाउँमै खपत हुँदै आएका शेर्पाको भनाइ थियो । उहाँले सरकारी कार्यालयमासमेत बिक्री हुने गरेको बताउनुभयो ।

फुङ्लिङ नगरपालिका–१० का आशा लिम्बू विगत १५ वर्षदेखि अल्लो प्रशोधन तथा धागो उत्पादन र कपडा बुनाईलाई मुख्य पेशाकारुपमा अङ्गाल्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको कपडा बिक्री गर्नका लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अल्लोको कपडा बिक्री केन्द्रसमेत स्थापना गर्नुभएको छ । केन्द्रमा उहाँले कपडालगायत अल्लोका सामग्री बिक्री गर्दै आउनुभएको छ । लिम्बू ताप्लेजुङको अल्लो कपडा प्रशोधन तथा कपडा बुनाइका लागि प्रशिक्षकसमेत हुनुहुन्छ ।

हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ–१० वडाको समन्वय तथा रेडपाण्डा नेटवर्क, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुई महिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिमको प्रशिक्षकका रुपमा अहिले लिम्बूले काम गर्दै आउनुभएको छ । फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मञ्चले जनाएको छ।