भारतीयको सहयोगमा जियोल्याण्ड ट्राभल्सको सिस्टम ह्याक

काठमाडौँ । एयर अरेबिया र जजिरा एयरलाइन्सले झण्डै २ करोड भुक्तानी मागेपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक छक्क परे । बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्सका सञ्चालकले एयरलाइन्स कम्पनीलाई भने–‘त्यति धेरै टिकट त बेचेकै छैन ।’

तर, दुईवटा एयरलाइन्स कम्पनीबाट ३३७ जना यात्रुले उडान टिकट प्रयोग गरिसकेको भेटियो । जजिरा र एयर अरेबियाको रेकर्डमा जियोल्याण्डले नै टिकट बेचेको देखिएपछि जियोल्याण्डकी सञ्चालक सीता गैरे प्रहरीकहाँ पुगिन् । पाल्पा घर भएकी ४३ वर्षीया गैरेको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

करिब दुई साताको अवधिमा जियोल्याण्डको युजर आईडी ह्याक गरेर जजिरा र एयर अरेबियाको ३३७ जना यात्रुको टिकट चोरी गरेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । चोरी भएको टिकटको मूल्य १ करोड ९९ लाख ८२ हजार ९८४ हुन्छ । कार्तिक १८ देखी मङ्सिर २ सम्मको अवधिमा ह्याकरले अवैध तरिकाले सिस्टम ह्याक गरेर टिकट चोरेको अनुसन्धानबाट थाहा भएको छ ।

टिकट चोरीमा संलग्न आरोपमा सीआईबीले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी र म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको छ । हरि प्रसाद पर्वतका स्थानीय हुन् । म्यानेजर सुवेदी चाहिँ स्याङ्जाका स्थानीय हुन् ।