काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले धार्मिक राज्य बनाउन नसकिने बताएका छन्। सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताएका हुन्।
उनले मुलुकलाई घोर पश्चगामी र प्रतिगामी लैजान नदिइने बताए। ‘अहिले गणतन्त्रको विकल्प छैन। गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन। बरु केहि कमजोरी भए सुधारेर समाजवादी गणतन्त्रमा जान सकिन्छ। यो व्यवस्थाका कमि कमजोरी र दलका नेतामा कमजोरी भएपनि सुधारेर जानुपर्छ।’ उनले भने,‘पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ तर दुर्गा प्रसाईको अभियान घोर पश्चगामी हो। विदेशी शक्ति केन्द्र भित्र्याउन, अस्थिरता र द्वन्द्वतिर लैजान त यो अभियानले सफलता पाउला तर मुलुक अब पुरानै व्यवस्थातिर जान सकिँदैन।’
उनले यो व्यवस्थाले सबै किसिमका विचारका लागि खुल्ला रहेको उल्लेख गरे। गुरुङले राजनीतिक कोर्स पूरा भएपनि आर्थिक कोर्स पूरा हुन नसकेको उल्लेख गरे।